काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो बाँकी जीवन राष्ट्रसेवामा समर्पण गर्ने घोषणा गरेकी छन्। ‘रासस फोटो किताब: गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै आयोजित कार्यक्रममा उनले भनिन्, “मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ।”
पूर्वराष्ट्रपतिले हालको राजनीतिक प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै दलहरू अत्यधिक पार्टी-केन्द्रित बन्दै गएको उल्लेख गरिन्। उनले राष्ट्रिय आकांक्षा र दीर्घकालीन सोचसहितको सहमति आवश्यक रहेको धारणा राखिन्।
“दलीय व्यवस्थामा धेरै दल हुनु स्वाभाविक हो,” भण्डारीले भनिन्, “तर स्थिर सरकार निर्माण र साना दलहरूको अत्यधिक बार्गेनिङ रोक्न दिगो कार्यक्रम आवश्यक छ।” जनताका बढ्दो माग र तीव्र बसाइँसराइजस्ता सामाजिक परिवर्तनले चुनौती निम्त्याइरहेको उल्लेख गर्दै उनले दीर्घकालीन, अल्पकालीन तथा तत्कालीन कार्यक्रमहरू जिम्मेवारीका साथ ल्याउन सरकारलाई सुझाव दिइन्।
नयाँ पुस्ताले तीव्र विकासको अपेक्षा राख्ने बताउँदै उनले शिक्षा, स्वास्थ्य तथा समग्र विकासको ढाँचामा समयसापेक्ष परिवर्तन आवश्यक रहेको धारणा पनि राखिन्। राजनीतिक अस्थिरताको दोष निर्वाचन प्रणालीमा नरहेको स्पष्ट पार्दै उनले भनिन्, “जसले जिते पनि नेपाली जनताकै जित हो। पाँच वर्ष मिलेर जान सकिन्छ।”
कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूले पनि गणतन्त्र स्थापनापछि नेपालले हासिल गरेका उपलब्धिबारे चर्चा गरेका थिए।







